News आयोजक न्यु एभरेष्ट अन्तिम चारमा
सुरज राना मगर

मैनिया । सहज जित निकाल्दै आयोजक न्यू एभरेष्ट युवा क्लब, मैनिया यहाँ जारी प्रथम गैंडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गैंडहवा–८ देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा आयोजक न्यु एभरेष्टले गौतमबुद्ध सामुदायिक विकास केन्द्र, पिपरिचाँपालाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आयोजकको जितमा अजित थापा र प्रयास तामाङले एक–एक गोल गरे । खेलमा आयोजक कै एलिस मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत पौष १३ गते मंगलबारको अन्तिम तथा चौथो क्वाटरफाइनल खेल बि.वाई.सी. बाँसगढी र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक प्रकाश हमालले जानकारी दिए ।

न्यु एभरेष्ट युवा क्लबको आयोजना तथा गैंडहवा गाउँपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यहि पौष १७ गतेका दिन हुनेछ ।

 

 

Post Comments