News फर्साटिकर उपाधि नजिक
सुरज राना मगर

मैनिया । साँघुरो जितका साथ फर्साटिकर युवा क्लब यहाँ जारी प्रथम गैंडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गैंडहवा–८ देवीनगर स्थित स्थानीय खेलमैदानमा बिहीबार भएको सेमिफाइनल भिडन्तमा फर्साटिकरले मुर्गिया एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

पहिलो हाफको २९औं मिनटमा जोन ग्लोरीले गरेको एक मात्र गोल फर्साटिकरलाई फाइनलमा पुर्याउन निर्णायक बन्यो । खेलमा मुर्गियाले पनि बराबरी गर्ने अवसर पाएको थियो । फर्साटिकरका खेलाडीले मुर्गियाका खेलाडीलाई बक्स भित्र फल गरेपछि मुर्गियाले पेनाल्टीको अवसर पाएको थियो । तर मुर्गियाका अभिषेक पुनले त्यो पेनाल्टीलाई पोष्ट बाहिर प्रहार गरेपछि मुर्गियाले खेलमा फर्कने अवसर गुमाएको थियो ।

खेलमा पराजित मुर्गिया एफसीका कप्तान तथा गोलरक्षक राकेश गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष १६ गतेको सेमिफाइनल खेल आयोजक न्यु एभरेष्ट युवा क्लब, मैनिया र कपिलवस्तु–११ बीच हुने संयोजक प्रकाश हमालले जानकारी दिए ।

न्यु एभरेष्ट युवा क्लबको आयोजना तथा गैंडहवा गाउँपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यहि पौष १७ गतेका दिन हुनेछ ।

 

 

Post Comments