News कपिलवस्तुलाई गैंडहवा अध्यक्ष कपको उपाधि
सुरज राना मगर

देवीनगर । उत्कृष्ट जितका साथ रुपन्देहीमा सम्पन्न प्रथम गैंडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली कपिलवस्तु–११ ले जितेको छ ।

शनिबार भएको फाइनलमा कपिलवस्तुले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । गैंडहवा–८, देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको फाइनल भिडन्तमा कपिलवस्तुका लागि सन्जु सेनले दुई गोल गरे । त्यस्तै थप एक गोल भने आशिष पुनले गरे ।

विजेता बनेको कपिलवस्तुले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता फर्साटिकरले ५५,५५५ रुपैयाँमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच कपिलवस्तुका लागि दुई गोल गरेका सन्जु सेन घोषित भए । त्यसवापत उनले नगद १ हजार र ट्रफी हात पारे ।

व्यक्तिगत विधातर्फ कपिलवस्तु कै आशिष पुन सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि कपिलवस्तु कै दिपक राना बन्दा उत्कृष्ट डिफेन्डर पनि कपिलवस्तु कै ब्रिजेश बिष्ट चुनिए । उत्कृष्ट मिडफिल्डर भने पराजित फर्साटिरका निशान न्यौपाने घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले ट्रफीसहित जनही २५–२५ सय हात पारे ।

गैंडहवा गाउँपालिका, रुपन्देहीको संरक्षकत्व तथा न्यु एभरेष्ट युवा क्लब, मैनियाको आयोजनामा पौष १० गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments