News मनाङलाई फापेको पोखरा, थ्रीस्टारलाई जितको स्वाद
गोलनेपाल

पोखरा । शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले शनिबार पोखरामा ब्रीगेड ब्वाईज क्लब (बीबीसी) माथि १–० को साँघुरो जित निकाल्दै शिर्ष स्थानमा उक्लेको छ ।

लिगमा यसै सिजनबाट आफ्नो घरेलु मैदानका रुपमा पोखरा रंगशालाई प्रयोग गरिरहेको मनाङले बीबीसीलाई हराउँदा स्टार फरवार्ड अन्जन बिष्ट नै निर्णायक बने ।

पहिलो हाफको अतिरिक्त समयमा अन्जन बिष्टले गरेको एक मात्र गोल मनाङलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो । पोखरा रंगशालामा मनाङको यो लगातार दोस्रो जित समेत हो । यसअघि पाँचौं चरणको खेलमा पनि मनाङले पुलिसमाथि ३–१ को जित निकालेको थियो ।

यो जितसँगै ७ खेलबाट १६ अंक जोडेको मनाङ शिर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानमा भने १४ अंकका साथ एक खेल कम खेलेको साविक विजेता मच्छिन्द्र छ । त्यस्तै पराजित बीबीसी भने ५ अंकका साथ १२औं स्थानमा छ ।

थ्रीस्टारलाई दोस्रो सफलता, संकटा र च्यासलको बराबरी

त्यस्तै शनिबार नै दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार क्लबले लिगको दोस्रो जित दर्ता गर्ने क्रममा जावलाखेल युथ क्लबलाई २– १ ले हरायो । थ्रीस्टारका लागि खेलको छैठौं मिनटमा आयुष घलानले आफ्नो लिगको डेब्यु गोल गरे भने २६औं मिनटमा रितिक खड्काले दोस्रो गोल थपेका थिए ।

उता जावलाखेलका लागि ५५औं मिनटमा निकोलास फर्नान्डेसले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । यो नतिजापछि ७ खेलबाट १० अंक जोडेको थ्रीस्टार पाँचौं स्थानमा छ । पराजित जावलाखेल भने ७ अंकका साथ नवौं स्थानमा झरेको छ ।

त्यसैगरी दशरथ रंगशाला मै भएको दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँड्े । यो बराबरी नतिजापछि ७ खेलबाट १३ अंक जोडेको संकटा तेस्रो स्थानमा छ । उता च्यासल भने ५ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा संघर्षरत छ ।

Post Comments