News केबिए ग्लोबल भरतपुर एफसीलाई उपाधि
गोलनेपाल

बसन्तपुर । अब्दुला नायक बन्दा तेस्रो माडी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि केबिए ग्लोबल भरतपुर फुटबल क्लबले जितेको छ ।

फाइनलमा साविक विजेता काठमाडौं–११ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै भरतपुरले उपाधि उचाल्न सफल भएको हो । बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा शनिबार भएको फाइनल भिडन्तमा भरतपुरका लागि खेलको ४१ र ९०औं मिनटमा अब्दुलाले गरेको दुई गोल नै टोलीलाई उपाधि जिताउन प्रर्याप्त बन्यो ।

विजेता बनेको केबिए ग्लोबल भरतपुरले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्यो भने उपविजेता काठमाडौंले १ लाख २५ हजारमा चित्त बुझाउन बाध्य बन्यो ।

भरतपुरका अन्सन तामाङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै भरतपुर कै अनिष महतो उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर भने काठमाडौंका सिले मार्टिन बने । त्यस्तै काठमाडौं कै सुवास खड्का उत्कृष्ट मिडफिल्डर घोषित हुँदा भरतपुरका अब्दुलाले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

उत्कृष्ट प्रशिक्षक विजेता भरतपुर कै ध्रुव भुषाल घोषित भए भने उदीयमान खेलाडी आयोजक माडीका रबिन राई बने । त्यस्तै फेयर प्ले पुरस्कार पनि आयोजक माडी–११ ले नै हात पार्यो ।

बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार, चितवनको आयोजनामा यहि माघ १ गतेदेखि शुरु प्रतियोगितामा आयोजकसहित कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments