News डिफेन्डिङ च्याम्पियनलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा
उमेश पुन

पोखरा । साविक विजेता संकटा क्लबलाई हराउँदै नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब जारी २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले संकटाको चुनौति ४–१ ले पन्छाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलमा शुरुवाती अग्रता पनि मच्छिन्द्रले बनाएको थियो । १३औं मिनटमा उत्सव राईको गोलबाट मच्छिन्द्रले खेलमा खाता खोल्यो ।

त्यस्तै दोस्रो हाफको ४६औं मिनटमा मेसुकेले मच्छिन्द्रको त्यो अग्रता दोब्बर पारे । यद्यपि ६३औं मिनटमा गणेश हमालले संकटाका लागि गोल फर्काउँदै टोलीलाई पनि खेलमा फर्काउन प्रयास गरे । तर सफल भएनन् । खेलको अन्तिमतिर संकटाले थप दुई गोल खान पुग्यो ।

८४औं मिनटमा अभिषेक गुरुङले तेस्रो गोल गर्दा त्यसको तीन मिनट लगतै मेस्केले चौथो गोल थप्दै मच्छिन्द्रको जित सुनिश्चित गरेका थिए । खेलमा मच्छिन्द्रका मेसुके म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत माघ ११ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल दुई दावेदार टोली रुस्लान थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ १५ गतेका दिन हुनेछ ।

Post Comments