News बाँकी दुई खेल नखेल्दै भारत महिला एसियन कपबाट बाहिरियो
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित एएफसी महिला एसियन कपको आयोजक राष्ट्र भारतले समूह चरणको बाँकी दुई खेल खेल्न नपाउँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ ।

प्रतियोगिताको समूह ए मा रहेको भारतले आफ्नो पहिलो खेलमा इरानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । यद्यपि समूह चरणको दोस्रो खेलमा भारतले आइतबार चाइनिज ताइपेई विरुद्ध खेल्नु अघि घरेलु टोलीलाई ठूलो झट्का लाग्न पुग्यो ।

भारतीय टोलीका कुल १२ खेलाडीहरुमा कोरोना संक्रमण देखियो । त्यसमा थप दुई खेलाडी चोटिल पनि थिए । एएफसीको नियमअनुसार खेलमा प्रतिस्पर्धा गर्न कम्तिमा पनि १३ खेलाडी आवश्यक हुनुपर्नेमा भारतले त्यो मापदण्ड पनि पूरा गर्न नसकेपछि आयोजक राष्ट्र दुर्भाग्यपुर्ण रुपमा प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

यो निर्णयसँगै भारतले इरानसँग खेलेको पहिलो खेल पनि औचित्यविहीन बनेको छ । साथै भारतले चीनसँग खेल्ने समूह चरणको अन्तिम खेल पनि स्थगित भएको छ । भारत प्रतियोगिताबाट बाहिरिएको कुरा अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) ले पनि पुष्टी गरेको छ ।

लगातार दोस्रो जितका साथ चीन नकआउट चरणमा

त्यस्तै आइतबार नै भएको समूह ए को अर्को खेलमा बलियो चीनले लगातार दोस्रो जित दर्ता गर्यो । पहिलो खेलमा चाइनिज ताईपेईलाई ४–० ले हराएको चीनले आइतबार इरानमाथि ७–० को फराकिलो जित दर्ता गर्यो । यो जितसँगै चीन प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली समेत बनेको छ ।

 

 

Post Comments