News मच्छिन्द्रलाई निराश पार्दै एपिएफ फाइनलमा
उमेश पुन

पोखरा । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब यहाँ जारी २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले दश खेलाडीमा खुम्चिएको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्न सफल भएको हो ।

पोखरा रंगशालामा सम्पन्न खेलमा अग्रता पनि एपिएफले बनाएको थियो । २५औं मिनटमा सनिस श्रेष्ठको गोलबाट अग्रता लिएको विभागीय टोलीले त्यो अग्रता पहिलो हाफ मै गुमाउन पुग्यो । ४०औं मिनटमा नुरैन करिमले मच्छिन्द्रका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ बराबरी मै सकिए तापनि दोस्रो हाफमा भने एपिएफले पकड बनायो । ६८औं मिनटमा प्रदिप लामाले एपिएफका लागि दोस्रो गोल थपे । त्यसको केही मिनट लगतै मच्छिन्द्रका गोलकर्ता करिमले रातो कार्ड खाँदै मैदान छाडेपछि टोली दश खेलाडीमा खुम्चिन पुग्यो । जसको फाईदा एपिएफले नै उठायो ।

खेलको अन्तिमतिर एपिएफका कप्तान नविन लामाले तेस्रो गोल थप्दै टोलीको उत्कृष्ट जित र फाइनल यात्रा सुनिश्चित गरे । खेलमा एपिएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत माघ १३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल एनओसी मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ १५ गतेका दिन हुनेछ ।

Post Comments