News धनकुटामा उपाधि जित्दै आर्मीले लियो बदला
गोलनेपाल

धनकुटा । नेपाल आर्मी क्लबको महिला फुटबल टोलीले शुक्रबार सम्पन्न शहिद रिदामाहाङ–रामालिहाङ आठमहिला महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

तल्लो टुंडिखेलमा भएको फाइनल भिडन्तमा आर्मीले अर्को विभागीय टोली तथा उपाधिको बलियो प्रत्याशी मानिएको नेपाल एपिएफ क्लबलाई पेनाल्टी शुटआउटमा ३–१ ले हरायो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । विजेता आर्मीले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता एपिएफले १ लाखमा चित्त बुझायो ।

यो जितसँगै आर्मीले एपिएफसँग काठमाडौंमा बेहोरेको हारको बदला समेत लिएको छ । स्मरण रहोस, गत साता मात्र काठमाडौंमा सम्पन्न सातौं प्रधान सेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा आर्मीले एपिएफसँग हार बेहोरेको थियो ।

धनकुटा जिल्ला फुटबल संघको प्राविधिक सहयोग तथा धनकुटा नगरपालिकाको विशेष सहयोगमा किरात आठपहरिया समाज नेपाल, धनकुटाको आयोजनामा यहि पौष १२ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।

 

Post Comments