News आर्मीलाई हराउँदै मनाङ फाइनलमा
उमेश पुन

पोखरा । कठिन जितका साथ मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङले अर्को बलियो टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै फाइनल स्थान सुनिश्चित गरेको हो ।

त्यसअघि पोखरा रंगशालामा भएको निर्धारित समय र थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । निर्धारित समयतर्फ पहिलो हाफमा मनाङले पेनाल्टी चुकाउँदा जितका लागि संघर्ष गर्नुपर्यो ।

शुरुवात मै आर्मीका खेलाडीले बक्स भित्र ह्याण्डबल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । तर मनाङका बिमल रानाले त्यो पेनाल्टी प्रहार पोष्ट बाहिर खेर फाल्दा मनाङलाई टाईब्रेकरसम्म संघर्ष गर्नुपर्यो ।

मनाङले अब उपाधिका लागि माघ १५ गते शनिबारका दिन अर्को विभागीय टोली एपिएफ फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । एपिएफले बुधबार मात्र मच्छिन्द्रलाई हराएर फाइनल प्रवेश गरेको थियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ ।

Post Comments