News उर्लाबारीमा फुटबल प्रतियोगिता फागुन १५ गतेदेखि
गोलनेपाल
उर्लाबारीमा यही फागुन १५ गतेदेखि तेस्रो मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक उर्लाबारी फुटबल क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने प्रतियोगिता फागुन २१ गतेसम्म सञ्चालन हुने खेल संयोजक विशाल तामाङले जानकारी दिए । उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव भीष्म बुढाथोकीले बताए । प्रतियोगिताको मुख्य प्रायोजक उर्लाबारी नगरपालिका रहने र खेल सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।

प्रतियोगिताकै अवसरमा साफ प्रतियोगितामा च्याम्पियन बन्न सफल नेपाली फुटबल टोलीका सदस्य उर्लाबारी निवासी मिक्चेन तामाङ र साफ च्याम्पियनमा महिलातर्फ रजत पदक विजेता टोलीकी कविता धिमाललाई नगदसहित सम्मान गरिने क्लबका कार्यवाहक अध्यक्ष सुब्रत अधिकारीले जानकारी दिए । तामाङलाई ७५ हजार र धिमाललाई ५० हजारसहित उनीहरुलाई सम्मान गरिने जनाइएको छ ।

यस्तै, उर्लाबारी घर भई राष्ट्रिय टिममा स्थान बनाउन सफल फुटबल खेलाडीहरु विजय धिमाल र रजिन धिमाललाई पनि नगदसहित सम्मान गरिने क्लबले जनाएको छ । पत्रकार सम्मेलनकै अवसरमा प्रत्येक वडाका जनप्रतिनिधिको रोहबरमा लट्री गरी टाइसिट तयार गरिएको छ ।

जसअनुसार प्रतियोगिताको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन उर्लाबारी वडा नं. ६ र वडा नं. ३ बीच हुने भएको छ । पत्रकार सम्मेलनमा क्लबका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, क्लबका कोषाध्यक्ष योगराज फागोलगायतको उपस्थिति रहेको थियो ।

तेजन खड्का 
Post Comments