बागमती भेट्रानको विजयी सुरुवात, लालबन्दीलाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

महोत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारा स्थित सहिद स्मृति खेल मैदानमा खयरमारा युवा क्लबको आयोजनामा सञ्चालित प्रथम भेट्रान फुटबल प्रतियोगिता २०८३ को दोस्रो दिनको खेलमा बागमती भेट्रान (मकवानपुर) ले विजयी सुरुवात गरेको छ।

प्रतियोगिताको दोस्रो दिन सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बागमती भेट्रानले लालबन्दी भेट्रान (सर्लाही) लाई पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकर अर्थात् पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा बागमती भेट्रानले लालबन्दी भेट्रानलाई ६–५ गोलले हराउँदै दोस्रो चरणको यात्रा तय गर्न सफल भयो।

निकै रोचक र प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बागमती भेट्रानका जस्मान स्याङ्तानले उत्कृष्ट प्रदर्शन गरे। पेनाल्टी सुटआउटमा दुई गोल बचाउन सफल स्याङ्तान ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १ हजार रुपैयाँसहित मेडल प्राप्त गरे।

प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

Post Comments