News डिएमसी सेमिफाइनलमा
सुरज राना मगर

कञ्चन । डिएमसी, तुल्सीपुर यहाँ जारी कञ्चन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा डिएमसीले सनराईज एफसी, नवलपरासीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि कञ्चन–४, दियोबजार स्थित स्थानीय खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयतर्फ दुवै टिमका खेलाडीहरुले पाएको केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको थियो ।

खेलमा डिएमसीका गोलरक्षक दिपेश परियार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार १ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन १७ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल भैरव एफसी, नवलपरासी र कपिलवस्तु–११ बीच हुने प्रचार प्रसार संयोजक टिका थापाले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियो बजारको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ, रुपन्देहीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रकाश थापाले बताए । फाइनल खेल यहि फागुन २१ गतेका दिन हुनेछ ।

Post Comments