News प्रभावशाली जितका साथ वार्ड नम्बर ६ सेमिफाइनलमा
गोलनेपाल

दुहबी । उत्कृष्ट जित हात पार्दै वार्ड नम्बर ६ यहाँ जारी चौथो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वाटरफाइनलमा वार्ड नम्बर ३ लाई ४–१ ले हराउँदै वार्ड नम्बर ६ अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ६ का लागि पहिलो मिनट मै सागर शर्माले पहिलो गोल गरे । २६औं मिनटमा अजय गोश्वामीले त्यो अग्रता दोब्बर बनाए । त्यस्तै ३५औं मिनटमा मनिष बिकले तेस्रो गोल थपे ।

उता वार्ड नम्बर ३ का लागि ४९औं मिनटमा टेकनाथ थपलियाले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । वार्ड नम्बर ६ का लागि ७४औं मिनटमा मनिष बिकले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै वार्ड नम्बर ६ को जित पक्का गरे ।

खेलमा दुई गोलकर्ता मनिष बिक नै म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी मुन्ना हलुवाईले नगद २ हजार र मेडलसहित पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत फागुन १७ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ७ र १२ बीच हुने आयोजकले जनाएको छ ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments