News आयोजक फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । उपाधिको दावेदार मध्ये एक आयोजक फर्साटिकर युवा क्लब जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको अन्तिम प्रिक्वाटरफाइनल खेलतर्फ फर्साटिकरले गोर्खा ब्वाईज क्लबलाई ४–० ले हरायो । फर्साटिकरका लागि १७औं मिनटमा सुरज हमालले गोलको खाता खोलेका थिए ।

लगतै २१औं मिनटमा आशिष जिसीले आयोजक टोलीको अग्रता दोब्बार पारे । खेलमा एकपक्षीय नतिजा निकालेको फर्साटिकरका लागि ४७औं मिनटमा विश्व थापाले तेस्रो गोल गरे भने ५७औं मिनटमा बिशाल खड्काले चौथो गोल गर्दै घरेलु टोलीको सहज जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच आयोजक फर्साटिकर कै विश्व थापा घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । यो खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल स्कलर्स होम एकेडेमी, बुटवल र भैरव एफसी, नवलपरासीबीच हुनेछ ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको छ ।

शुद्धोदन गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।

त्यस्ते सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि जनही १६–१६ हजार हात पार्ने अध्यक्ष कुँवरले बताए । साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको उनले बताए ।

रुपन्देही, नवलपरासी, पाल्पा र चितवनका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पौष २६ गते हुनेछ ।

Post Comments