News डिएमसीलाई फाइनलमा पुर्याउन राजिव बने नायक
सुरज राना मगर

कञ्चन । राजिव लोप्चन नायक बनेपछि डिएमसी, तुल्सीपुर यहाँ जारी कञ्चन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा डिएमसीले युवा खेलाडीहरुले भरिएको एन्फा एकेडेमी, बुटवलमाथि २–१ को संघर्षपुर्ण जित निकाल्यो ।

कञ्चन गाउँपालिका–४, दियो बजार स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलतर्फ खेलमा शुरुवाती अग्रता एन्फा एकेडेमीले नै लिएको थियो । खेलको ३९औं मिनटमा निराजन खत्रीको सुन्दर गोलबाट एन्फा एकेडेमीले खेलमा अग्रता बनाए तापनि त्यो अग्रता दोस्रो हाफमा गुमाउन पुग्यो ।

६४औं मिनटमा डिएमसीका लागि राजिव लोप्चनले बराबरी गोल फर्काए । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा लोप्चनले नै व्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जितका साथ फाइनलमा पुर्याए ।

खेलमा निर्णायक गोलकर्ता बनेका डिएमसीका राजिव लोप्चन नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११ सय हात पारे । प्रतियोगिता अन्तरगत फागुन १९ गतेको दोस्रो सेमिफाइनल खेल कपिलवस्तु–११ र सैनामैना खेलकुद समिति, रुपन्देहीबीच हुने प्रचार प्रसार संयोजक टिका थापाले जानकारी दियो ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियो बजारको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ, रुपन्देहीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रकाश थापाले बताए । फाइनल खेल यहि फागुन २१ गतेका दिन हुनेछ ।

Post Comments