News भैरवको सेमिफाइनल यात्रा पक्का
सुरज राना मगर

बुटवल । भैरव एफसी, नवलपरासी रुपन्देहीमा जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा भैरवले स्कलर्स होम एकेडेमी, बुटवललाई ३–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । खेलमा स्कलर्स होमले भैरव विरुद्ध शुरुवाती समय राम्रो प्रदर्शन गरेता पनि त्यसलाई अन्तिमसम्म निरन्तरता दिन सकेनन् ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलको ३८औं मिनटमा बिनोद केवटले बक्स नजिकैबाट गरेको वान भर्सेस वान प्रहार पहिलो गोलका रुपमा परिणत भएको थियो ।

त्यस्तै ५५औं मिनटमा बिनोद केवटले नै दोस्रो गोल गर्दै भैरवको अग्रता पनि दोब्बर पारे । दोस्रो हाफमा स्कलर्स होम अलि सुस्ताको आभाष भयो । जसको फाईदा भैरवले उठाउँदै ६४औं मिनटमा डेविट थापाले भैरवका लागि तेस्रो गोल गर्दै टोलीको सेमिफाइनल यात्रा सुनिश्चित गरे ।

खेलको म्यान अफ द म्याच भने पराजित स्कलर्स होमका मनिष केप्छाकी घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष २० गते आइतबारको खेल पाल्पा–११ र न्यु सिर्जना युवा क्लब, करौजियाबीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि पौष २६ गते हुनेछ ।

Post Comments