News विश्व शान्ती सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

सालझण्डी । रोमाञ्चक जितका साथ विश्व शान्ती युवा क्लब यहाँ जारी चौथो सैनामैना मेयर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो क्वाटरफाइनलतर्फ विश्व शान्तीले मुर्गिया फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । सैनामैना–१० सालझण्डी स्थित पानबारी खेलमैदानमा भएको खेलमा विश्व शान्तीका लागि ५२औं मिनटमा सुरज थारु तथा ७५औं मिनटमा विश्वास श्रेष्ठले एक–एक गोल गरे ।

खेलमा विश्व शान्तीका गोलकर्ता सुरज थारु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार १११ रुपैयाँ र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र ३ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल एकता युवा क्लब र डोना फुटबल एकेडेमी बीच हुने प्रचार प्रसार संयोजक रेजिन श्रेष्ठले जानकारी दिए ।

सैनामैना नगरपालिका र नगर खेलकुद समितिको संरक्षकत्व रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने सैनामैना नगर खेलकुद समितिका अध्यक्ष अमर लम्सालले बताए ।

कन्दरा युथ क्लब, पानबारी–१०, सालझण्डीको आयोजनामा जारी प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष तुल्सी पौडेलले बताए । प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र १० गतेका दिन हुने पनि अध्यक्ष पौडेलले जानकारी दिए ।

Post Comments