News एकता युवा क्लब सेमिफाइनलमा
सुरज राना मगर

सालझण्डी । संघर्षपुर्ण जित निकाल्दै एकता युवा क्लब यहाँ जारी चौथो सैनामैना मेयर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलतर्फ एकताले डोना फुटबल एकेडेमीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । सैनामैना–१० सालझण्डी स्थित पानबारी खेल मैदानमा भएको त्यसअघिको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका एकता युवा क्लबका प्रतिक सिर्पाली म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १,१११ रुपैयाँसहित ट्रफी हात पारे । त्यस्तै चैत्र ४ गते तराईमा होली पर्व परेकाले सो दिन खेल नहुने प्रचार प्रसार संयोजक रेजिन श्रेष्ठले बताए ।

प्रतियोगिता अन्तरगत चैत्र ५ गतेको तेस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र सेन्ट्रल कलेज फोर ब्रदर्श बीच हुने आयोजकले जनाएको छ ।

सैनामैना नगरपालिका र नगर खेलकुद समितिको संरक्षकत्व तथा कन्दरा युवा क्लब, सालझण्डीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तुल्सी पौडेलले बताए ।

त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र १० गतेका दिन हुनेछ ।

Post Comments