News बंगलादेशसँग पनि निराश बन्यो नेपाल
गोलनेपाल

काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपाली टोलीले लगातार दोस्रो खेलमा पनि निराशाजनक प्रदर्शन गरेको छ । लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार साविक विजेता बंगलादेशसँग ४–२ को हार बेहोर्न बाध्य बन्यो ।

जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा भएको खेलमा बंगलादेशले खेल शुरु भएको पहिलो मिनट मै गोलको खाता खोलेको थियो । अफिदा खन्दकरले बंगलादेशका लागि पहिलो गोल गरेकी थिईन् । यद्यपि ३१औं मिनटमा दिपा शाहीले नेपालका लागि बराबरी गोल फर्काउन सफल भईन् ।

तर त्यसको दुई मिनट लगतै अक्लिमा खातुनले बंगलादेशका लागि दोस्रो गोल थपिन् । त्यस्तै इटी खातुनले बंगलादेशका लागि तेस्रो गोल गरिन् । बंगाली टोली त्यति मै रोकिएन । शाहदा अक्तर रिपाले बंगलादेशका लागि चौथो गोल गरिन् । उता नेपालका लागि अन्तिमतिर अमिशा कार्कीले थप एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकिनन् ।

नेपालले आफ्नो तेस्रो खेल सोमबार भारतसँग खेल्नेछ । स्मरणीय छ, प्रतियोगिताको उद्घाटन खेलमै नेपालले भारतसँग ०–७ को फराकिलो अन्तरको हार बेहोरेको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शिर्ष टोली च्याम्पियन बन्नेछ । प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत र बंगलादेश गरी कुल ३ टोली मात्र सहभागि छन् ।

 

Post Comments