News फर्साटिकर सेमिफाइनलमा
सुरज राना मगर

सालझण्डी । फर्साटिकर युवा क्लब यहाँ जारी चौथो सैनामैना मेयर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा सेन्ट्रल कलेज फोर ब्रदर्शलाई टाईब्रेकरमा ४–२ ले हराउँदै फर्साटिकर अन्तिम चारमा प्रवेश गरेको हो ।

सैनामैना नगरपालिका १० सालझण्डी स्थित पानबारी खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो ।

निर्धारित समयतर्फ खेलको २७औं मिनटमा टिकाराज गुरुङको गोलबाट अग्रता बनाएको फर्साटिकरले त्यसलाई जोगाई राख्न सकेन । त्यसको तीन मिनट लगतै यदु सिलवालले फोर ब्रदर्शका लागि बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा फोर ब्रदर्शका दुई खेलाडीले पेनाल्टी मिस गर्नु दुर्भाग्यपुर्ण बन्यो ।

खेलमा फर्साटिकरका गोलरक्षक शुभांकर जिसी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार १११ रुपैयाँ र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र ६ गतेको अन्तिम क्वाटरफाइनल खेल भैरव एफसी, नवलपरासी र कपिलवस्तु–११ बीच हुने आयोजकले जनाएको छ ।

कन्दरा युवा क्लब, सैनामैना–१०, सालझण्डीको आयोजना तथा सैनामैना नगरपालिका र नगर खेलकुद समितिको संरक्षकत्व रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तुल्सी पौडेलले बताए ।

रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि चैत्र १० गतेका दिन हुनेछ ।

Post Comments