News सैनामैना मेयर कपको फाइनलमा भैरव
सुरज राना मगर

सालझण्डी । रोमाञ्चक जित निकाल्दै भैरव एफसी, नवलपरासी यहाँ जारी चौथो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा भैरवले एकता युवा क्लबलाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । सैनामैना–१०, सालझण्डी स्थित पानबारी खेलमैदानमा भएको खेलमा भैरवका लागि २७औं मिनटमा दिपेश आलेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर लगतै ३३औं मिनटमा समिर थापाले एकताका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । यद्यपि दोस्रो हाफको अन्तिमतिर मोहन थापाले भैरवका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलमा भैरवका दिपेश आले म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १,१११ रुपैयाँ र ट्रफी हात पारे । अब उपाधिका लागि भैरवले यहि चैत्र १० गते बिहीबारका दिन फर्साटिकर युवा क्लबसँग खेल्ने आयोजक कन्दरा युवा क्लबका अध्यक्ष तुल्सी पौडेलले जानकारी दिए ।

सैनामैना नगरपालिका र सैनामैना नगर खेलकुद समितिको संरक्षकत्व रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments