News रोमाञ्चक पूनःरागमनका साथ झरना क्वाटरफाइनलमा
सुरज राना मगर

फर्साटिकर । खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै रोमाञ्चक पूनःरागमनका साथ झरना स्पोर्टस क्लब यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ झरनाले मुर्गिया एफसीलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलमा मुर्गियाले ३३औं मिनटमा सदिप केसीको गोलबाट खेलमा अग्रता लिएको थियो ।

तर खेलमा हार नमानेको झरनाले दोस्रो हाफमा पूनःरागमन गर्यो । खेलको ६०औं मिनटमा रोहित सुनारले झरनाका लागि बराबरी गोल फर्काए भने ६९औं मिनटमा सुर्य थापाले दोस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

खेलमा झरनाका रोहित सुनार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १,५५५ रुपैयाँ र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १४ गते सोमबारको खेल लिस्नु युवा क्लब र कपिलवस्तु–११ बीच हुने आयोजकले जनाएको छ ।

फर्साटिकर युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,२५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि चैत्र २६ गतेका दिन हुनेछ ।

Post Comments