News आर्मीलाई हराउँदै मानेभञ्ज्याङ सेमिफाइनलमा
गोलनेपाल

दमक । त्रिभुवन आर्मी फुटबल क्लबमाथि प्रभावशाली जित निकाल्दै मानेभञ्ज्याङ, एफसी, भारत यहाँ जारी दमक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको तेस्रो क्वाटरफाइनलमा मानेभञ्ज्याङले आर्मीमाथि ४–० को शानदार जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको खेलको २७औं मिनटमा जेरी पुलामीले मानेभञ्ज्याङका लागि पहिलो गोल गरेका थिए ।

४७औं मिनटमा राकेश सिंहले त्यो अग्रता दोब्बर बनाए । खेलमा एकपक्षीय नतिजा निकाल्ने क्रममा मानेभञ्ज्याङका लागि ६४औं मिनटमा बिमल कुमारले तेस्रो गोल थपे भने अन्तिमतिर राकेश सिंहले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मानेभञ्ज्याङको जित पक्का गरेका थिए ।

खेलमा मानेभञ्ज्याङका राकेश सिंह म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १४ गतेको अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र एभनिर एफसी, क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।

दमक नगरपालिका, नगर खेलकुद समिति तथा नगर फुटबल समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।

Post Comments