News साइनो स्पोर्टस मिल्स गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । खेलमा पछि परेको स्थिति उल्टाउँदै साईनो स्पोर्टस क्लब, बिराटनगर, रानी यहाँ जारी दोस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा गाईघाट फुटबल क्लब, उदयपुरलाई सडन डेथमा ६–५ ले हराउँदै साइनो स्पोर्टस अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि बिराटनगर जुट मिल्सको मैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको १७औं मिनट मै सुशन तामाङको गोलबाट अग्रता बनाएको गाईघाटले त्यसलाई अन्तिम समयतिर गुमाउन पुगेको थियो ।

साईनो स्पोर्टसका लागि ७२औं मिनटमा आशिष राईले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरपछिको सडन डेथमा भने साईनाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा साईनो स्पोर्टसका गोलरक्षक एन्जल म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी उद्योग, श्रम तथा रोजगार मन्त्री प्रकाश हाङनामले नगद ५ हजार र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र १४ गते सोमबारको अन्तिम क्वाटरफाइनल खेल एपिएफ, पकली र गोलबजार प्रतिभा फुटबल क्लब, सिराहाबीच हुने आयोजकले जनाएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट रानी, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।

 

Post Comments