News युनाइटेडको जितमा मिलनको ह्याट्रिक
सुरज राना मगर

भैरहवा । मिलन आलेले ह्याट्रिक गरेको खेलमा युनाइटेड एफसी, देवीनगर शानदार जितका साथ २८औं माछापुच्छ्रे कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ युनाइटेडले नवयुवा एफसी, ठुटिपिपललाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो । युनाइटेडका लागि मिलन आलेले ह्याट्रिक गर्दा सुन्दर बगाले र समुन्द्र ज्ञवालीले १–१ गोल गरे ।

खेलमा ह्याट्रिककर्ता मिलन आले म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १५ गतेको खेल डि युनिटी क्लब, खैरेनी र गोर्खा–११, नौतनवा, भारतबीच हुने आयोजकले जनाएको छ ।

माछापुच्छ्रे एफसी, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।

Post Comments