News फराकिलो जितका साथ कपिलवस्तु क्वाटरफाइनलमा
सुरज राना मगर

फर्साटिकर । गोलको बर्षा गर्दै फराकिलो जितका साथ कपिलवस्तु–११ यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिता क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार फर्साटिकर उच्च माविको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ कपिलवस्तुले लिस्नु युवा क्लबलाई ७–१ को फराकिलो अन्तरले हरायो । कपिलवस्तुको जितमा आशिष पुनले ह्याट्रिक गरे । त्यस्तै आशिष जिसीले दुई गोल गरे भने सन्जु सेन र सुर्य थापाले एक–एक गोल गरे । उता पराजित लिस्नुका लागि अंकित रासकोटीले एक मात्र गोल गरेका थिए ।

खेलमा ह्याट्रिक गरेका आशिष पुन म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १,५५५ रुपैयाँ र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १५ गते मंगलबारको अन्तिम प्रिक्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब (रातो) र फूलबारी गाईज बीच हुने आयोजकले जनाएको छ ।

फर्साटिकर युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत्र २६ गतेका दिन हुनेछ ।

Post Comments