News मनाङलाई स्तब्ध पार्दै सगरमाथा फाइनलमा
गोलनेपाल

इटहरी । उत्कृष्ट पूनःरागमन गर्दै सगरमाथा युथ क्लब, मोरङ यहाँ जारी कन्ट्रोल १२औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा सगरमाथाले दावेदार मानिएको मनाङ मस्र्याङ्दी क्लबलाई ४–२ ले हराउँदै फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको हो ।

इटहरी रंगशालामा भएको खेलको २१औं मिनटमा अन्जन बिष्टको गोलबाट मनाङले अग्रता लिएको थियो । ३०औं मिनटमा आफिज ओलावालेले मनाङको त्यो अग्रता दोब्बर पारे ।

तर दोस्रो हाफमा सगरमाथाले सनसनीपूर्ण पूनःरागमन गर्यो । ६६औं मिनटमा पेनाल्टीबाट आशिष लामाले सगरमाथाका लागि पहिलो गोल गरे भने त्यसको तीन मिनट लगतै लामाले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

७२औं मिनटमा भुवन बस्नेतले सगरमाथाका लागि तेस्रो गोल गरे भने ८५औं मिनटमा आवास लामिछानेले चौथो गोल गर्दै टोलीको सनसनीपूर्ण जित सुनिश्चित गरे ।

खेलमा सगरमाथाका भुवन बस्नेत म्यान अफ द म्याच घोषित भए । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दिपक राईले नगद १० हजार र ट्रफीसहित पुरस्कृत गरे ।

सगरमाथाले अब उपाधिका लागि चैत्र २६ गते शनिबार अर्को बलियो टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ । राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments