News लुम्बिनी खुकुरीलाई माछापुच्छ्रे कपको उपाधि
सुरज राना मगर

भैरहवा । यहाँ सम्पन्न २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्लब, बेलहियाले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा लुम्बिनी खुकुरीले आयोजक माछापुच्छ्रे फुटबल क्लब, भैरहवालाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि उचालेको हो ।

त्यसअघि पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता बनाएर पनि त्यसलाई अन्तिम समय जोगाउन नसक्दा आयोजक उपाधि जित्नबाट बञ्चित बनेको थियो ।

खेलको ३९औं मिनटमा मिसन दर्लामीको गोलबाट आयोजक माछापुच्छ्रेले शुरुवाती अग्रता लिए तापनि खेलको अन्तिमतिर इन्जुरी समयमा सुरज घलानले लुम्बिनी खुकुरीका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने आयोजक निराश बन्न पुग्यो ।

विजेता बनेको लुम्बिनी खुकुरीले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता माछापुच्छ्रेले ५० हजारमा चित्त बुझाउन बाध्य बन्यो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक क्लब माछापुच्छ्रेका विनय मसराङी मगर घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

सर्वाधिक गोलकर्ताको पुरस्कार भने भैरव एफसीका मनिष चौधरी र युनाइटेड स्पोर्टसका मिलन आलेले संयुक्त रुपमा हात पारे । दुवै खेलाडीले प्रतियोगिताभरि कुल ४–४ गोल गरेका थिए । उनीहरुले पुरस्कार वापतको ५ हजार रकम आपसमा बाँडेको आयोजक क्लबका अध्यक्ष युवराज थापाले बताए ।

विजयी खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका, भैरहवाका नगर प्रमुख हरिप्रसाद अधिकारी, आयोजक माछापुच्छ्रे फुटबल क्लबका अध्यक्ष युवराज थापा, सिद्धार्थनगर वार्ड नम्बर २ का वार्ड अध्यक्ष दिपक थापा लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

माछापुच्छ्रे एफसीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मूख्य प्रायोजनमा चैत्र १० गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरि कुल १६ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष युवराज थापाले जानकारी दिए ।

Post Comments