News बुटवलमा भूपू सैनिक भेट्रान्स कप शुरु
सुरज राना मगर

बुटवल । भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी रुपन्देहीको आयोजनामा प्रथम भूपू सैनिक भेट्रान्स कप सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल–१३, सालघारी स्थित आयोजक क्लब कै खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक भूपू सैनिक स्र्पोटिङ क्लब (रातो) ले कपिलवस्तु भेट्रान्सलाई ५–० को फराकिलो अन्तरले हरायो । खेलमा भूपू सैनिकका भरत थापा म्यान अफ द म्याच घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच बुटवल–१३ का वार्ड अध्यक्ष नारायण पुनले गरेका थिए । सो अवसरमा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार), जिल्ला खेलकुद विकास समिति, रुपन्देहीका पूर्व अध्यक्ष योग गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

आउँदो नयाँ वर्ष २०७९ वैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, चितवन र स्याङ्जाका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पुनले बताए ।

Post Comments