News आयोजक भूपू सैनिक (रातो) सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । उपाधिको दावेदारका रुपमा हेरिएको आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब (रातो) यहाँ जारी प्रथम भूपू सैनिक भेट्रान्स कप सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बुटवल–१३ सालघारी स्थित जवई खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा भूपू सैनिक (रातो) ले रानिबगिया भेट्रान्सलाई ८–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

आयोजकको जितमा यमु रानाले ह्याट्रिकसहित चार गोल गरे भने कप्तान भरत थापाले पनि तीन गोलसहित ह्याट्रिक पूरा गरे । थप एक गोल नर कुमार मगरले गरे । उता पराजित रानिबगियाका लागि नारायण क्षेत्रीले एक मात्र सान्त्वना गोल गरे । खेलमा आयोजकका लागि चार गोल गरेका यमु राना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए । फाइनल खेल भने बैशाख १ गते (नयाँ वर्ष) का दिन हुने पनि अध्यक्ष पुनले बताए ।

Post Comments