News पथरी ११ लाई त्रिवेणी गोल्डकपको उपाधि
रमेश समदर्शी

इलाम । पाहुना टोली मोरङको पथरी ११ एफसी इलामको फाकफोकथुम पालिका ४ स्थित फुएतप्पामा आयोजित दोस्रो त्रिवेणी गोल्डकप च्याम्पियन बनेको छ । इलामकै मिलेनियम फ्रेण्डस क्लब फिक्कलाई पराजित गर्दै पथरीले उपाधि रक्षा गरेको हो ।

स्थानीय विष्णु माविको खेलमैदानमा बिहीबार भएको फाइनल खेलमा फिक्कललाई २-१ गोलले पराजित गर्दै पथरी त्रिवेणी गोल्डकपको दोस्रो संस्करणको च्याम्पियन बनेको हो । जितका लागि पथरीका सनम धिमाल र सुवास तामाङले गोल गरे । फिक्कलका लागि शेखर राईले सान्त्वना गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको २ मिनेटमै पथरीका सनम धिमालले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

तर, फिक्कलका लागि शेखर राईले फेरि २ मिनेट नबित्दै गोल गरेर टिमलाई खेलमा फर्काए । खेलको निर्णायक गोल पथरीका सुवास तामाङले खेल सकिन १ मिनेट बाँकी रहँदा गरेका थिए । सुवासको गोलसँगै टिम पथरी त्रिवेणी गोल्डकपको च्याम्पियन बन्यो ।

खेलको उत्कृष्ट खेलाडी फिक्कलका आशिष राई घोषित हुँदै नगद ५ हजार पाउन सफल भए । यस्तै, उत्कृष्ट गोलरक्षक फिक्कलका विवेक मगर, उत्कृष्ट मिडफिल्ड पथरीका उमेश कार्की, उत्कृष्ट रक्षक पथरीका दिपेश धिमाल, सर्वाधिक गोलकर्ता पथरीका सुवास तामाङ घोषित भए । उनीहरुले जनही ३-३ हजार पाए ।

यस्तै, फाइनल खेलको म्यान अफ दी म्याच फिक्कलका सचिन यल्मू घोषित भए भने उदीयमान खेलाडी आयोजक क्लवका उज्ज्वल राई बने ।

त्रिवेणी युवा विकास संस्था फुएतप्पाले आयोजना गरेको गोल्डकपको विजेता पथरीले नगद २ लाखसहित ट्रफी पाएको छ भने उपविजेता फिक्कलले नगद १ लाखमा चित्त बुझाएको छ ।

-

Post Comments