News सुनवल भेट्रान फाइनलमा
सुरज राना मगर

बुटवल । सुनवल भेट्रान, नवलपरासी यहाँ जारी प्रथम भूपू सैनिक भेट्रान्स कप सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा वालिङ युनाइटेड, स्याङ्जालाई शून्यका विरुद्ध १ गोललको झिनो अन्तरले हराउँदै सुनवल उपाधि नजिक पुगेको हो ।

जवई खेलमैदानमा भएको खेलमा पहिलो हाफतर्फ इन्द्र बहादुर पुनले गरेको एक मात्र गोल सुनवललाई फाइनलमा पुर्याउन निर्णायक बन्यो । खेलमा विपक्षीमाथि दबाब राख्दै काउण्टर अट्याक गरे तापनि राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा वालिङ निराश बन्न पुग्यो ।

खेलमा सुनवल भेट्रानका गोलरक्षक जित बहादुर परियार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे । अब सुनवलले फाइनलमा बैशाख १ गतेका दिन आयोजक भूपू सैनिक भेट्रान (रातो)सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

Post Comments