News आयोजक भूपू सैनिक भेट्रानलाई उपाधि
सुरज राना मगर

बुटवल । प्रथम भूपू सैनिक भेट्रान्स कप सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक भूपू सैनिक भेट्रानले जितेको छ । बिहीबार भएको फाइनल भिडन्तमा आयोजक भूपू सैनिकले सुनवल भेट्रान, नवलपरासीलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

जवई खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा भूपू सैनिक भेट्रानका लागि कप्तान भरत काउचा, यमु राना र चन्द्रिका चौधरीले गोल गरे । उता पराजित सुनवल भेट्रानका लागि भरत गुरुङ र बिर बहादुर पुनले गोल गरेका थिए ।

विजेता बनेको भूपू सैनिक भेट्रानले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता सुनवल भेट्रानले ५१,१११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायोे ।

व्यक्तिगत विधातर्फ पनि भूपू सैनिक कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक भूपू सैनिकका ऋषिराम आचार्य घोषित भए भनै उत्कृष्ट डिफेन्डर पनि आयोजक भूपू सैनिक कै अमित गुरुङ चुनिए ।

उत्कृष्ट मिडफिल्डर सुनवल भेट्रानका बिर बहादुर पुन बन्दा उत्कृष्ट फरवार्ड आयोजक भूपू सैनिकका भरत काउचा चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि भूपू सैनिका यमु रानाले हात पार्दा उत्कृष्ट प्रशिक्षक भूपू सैनिक कै कृष्ण मान गौचन घोषित भए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार), आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लबका अध्यक्ष गोपीराम पुन, महासचिव चित्र बहादुर थापा, कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक प्रताप राना लगायतले पुरस्कृत गरेका थिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल १३, सालघारीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, चितवन, स्याङ्जाका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

अध्यक्ष पुनले प्रतियोगितालाई आगामी दिनहरुमा पनि थप भव्यताका साथ आयोजना गर्ने योजना रहको बताए । उनले प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद र आभार समेत व्यक्त गरे ।

Post Comments