News आयोजक इस्ट स्टार उपाधि नजिक
गोलनेपाल

मधुमल्ला । आयोजक इस्ट स्टार स्र्पोटिङ क्लब, मधुमल्ला, मोरङ यहाँ जारी प्रथम मधुमल्ला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा युके एफसी, भारतलाई २–१ ले हराउँदै आयोजक इस्ट स्टार उपाधि नजिक पुगेको हो । श्री मनोहर जनता माविको खेलमैदानमा भएको खेलको दोस्रो मिनट मै अमिर श्रेष्ठको गोलबाट आयोजकले खेलमा अग्रता लिएको थियो । जुन अग्रता पहिलो हाफसम्म मात्र कायम रह्यो ।

उता दोस्रो हाफको ५६औं मिनटमा सौरभ तामाङले युके एफसीका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए । यद्यपि खेलको ७१औं मिनटमा मिलन राईले आयोजक इस्ट स्टारका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्याउन निर्णायक भूमिका खेले ।

प्रतियोगिता अन्तरगत बैशाख ७ गते बुधबारको दोस्रो सेमिफाइनल खेल जलथल एफसी, झापा र विजय युथ क्लब, हेटौडाबीच हुने आयोजकले जनाएको छ ।

यहि वैशाख ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,५५५ रुपैयाँ हात पार्ने पनि आयोजकले जानकारी दियो ।

Post Comments