News बन्द प्रशिक्षणमा थपिए १७ खेलाडी
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले टोलीको बन्द प्रशिक्षणमा १७ खेलाडीहरुलाई सामेल गराएका छन् ।

केही दिन अघि मात्र राष्ट्रिय टोलीका १० सिनियर खेलाडीहरुले व्यवस्थापन पक्ष र प्रशिक्षक अब्दुलाको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै बन्द प्रशिक्षणबाट बाहिर निस्किएका थिए ।

यो रिपोर्ट तयार पार्दासम्म क्याम्प छाडेका खेलाडी, प्रशिक्षक र एन्फाबीच अझै सहमति बनेको छैन । यद्यपि त्यसका लागि आवश्यक पहल र प्रयास भने जारी छ ।

बन्द प्रशिक्षणमा बोलाइएका १७ नयाँ खेलाडीहरुमध्ये अधिकांश विभागीय टोलीका खेलाडीहरु पनि छन् । घरमै सम्पन्न थ्री नेशन्स कप पछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सन्जोक राई पनि फर्किएका छन् । त्यस्तै गोलरक्षक बिकेश कुथुले पनि स्थान बनाएका छन् ।

स्मरण रहोस, नेपाली टोली हाल एएफसी एसियन कप छनौटको तयारीमा व्यस्त छ । साथै नेपाली टोली थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने कार्यक्रम पनि छ । जहाँ नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच पनि खेल्नेछ ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालसँगै आयोजक कुवेत, जोर्डन र इण्डोनेसिया रहेका छन् । छनौट प्रतियोगिताका सबै खेलहरु जुन महिनाको शुरुवातदेखि शुरु हुने तय भईसकेको छ ।

Post Comments