News ड्रेगन लिगः भुटानको फुटबल भिजन
सुरज राना मगर

काठमाडौं । भविष्यमा राम्रा खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ भुटानमा भर्खरै मिनी ड्रेगन लिग सम्पन्न भएको छ । अधिकांश गोल्डेन (६–१२) उमेर समूहका बालबालिका सम्मिलित प्रतियोगितामा विभिन्न एकेडेमीहरुको सहभागिता थियो । प्रतियोगितामा लिग विजेतासहित उत्कृष्ट खेलाडीहरु पनि चुनिए ।

कुनै पनि देशको फुटबल विकासको पहिलो खुड्किलो नै ग्रासरुट फुटबल हुन्छ । त्यहि ग्रासरुट फुटबललाई दक्षिण एसियामा भुटानले नौलो प्रयोगका रुपमा अगाडी ल्याएको छ । स्वच्छ प्रतिस्पर्धाबाट भविष्यका उदियमान खेलाडी छान्ने भुटानको यो शैली पक्कै पनि सराहनीय छ ।

केही वर्ष अघिसम्म दक्षिण एसियाको कमजोर टोलीका रुपमा चित्रित भुटानले पछिल्लो समयमा गरेको प्रगति नियाल्दा उसले अहिले बलिया टोलीहरुलाई बलियो चुनौति दिन तयार रहेको आभाष हुन्छ । फिफा बरियतामा भुटानको पछिल्लो सुधारक्रमले पनि त्यसलाई इंगित गरिरहेको छ ।

फुटबलप्रति निष्पक्ष रुपमा लगानीसँगै प्रतिफलको पर्खाईमा रहेको भुटानले यस्तै फुटबल गतिविधीरुलाई निरन्तरता दिने हो भने आउने दिनहरुमा भुटानलाई विश्व फुटबलले हेर्ने नजिर अझै फेरिने निश्चित प्रायः छ ।

यता एन्फाको नयाँ नेतृत्व आएपछि केही वर्ष अघि तामझामका साथ शुरु भएको ग्रासरुट फुटबल अहिले सुस्ताईसक्यो । चुनावी माहोलमा व्यस्त बनेको नेपाली फुटबल अहिले आएर आन्तरिक विवादमा पनि बल्झिएको छ । खैर जे भए पनि नेपाली फुटबलको भविष्य निर्धारण गर्न भुटानबाट हामीले केही हदसम्म सकरात्मक कुराहरु सिक्न जरुरी छ ।

भुटानको ड्रागन लिग एउटा उदाहरण मात्र हो । तर फुटबलको भविष्य निर्धारण गर्ने यस्ता लिगहरु फुटबल विकासको बाटो पछ्याईरहेकाहरुका लागि कोशेढुंगा साबित हुन सक्छ ।

(Pics: Bhutan FA)

 

Post Comments