News क्वीक्स कपः जनज्योतिलाई छात्रा फुटबलको उपाधि
गोलनेपाल

काठमाडौं । क्वीक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनज्योति पब्लिक हाइ स्कुलले जितेको छ । फाइनलमा जनज्योतिले दुर्गा माध्यमिक विद्यालयलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा जनज्योतिले शुरुवाती गोल खाएर पछि परे तापनि खेलमा उत्कृष्ट पूनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलको २६औं मिनटमा सुनिता बोलनको गोलबाट अग्रता बनाएको दुर्गा माविले त्यसलाई धेरैबेर जोगाउन सकेन । उता जनज्योतिका लागि ३१औं मिनटमा दिक्षा खाँडले बराबरी गोल फर्काईन् भने ५१औं मिनटमा एलिसा थापा मगरले निर्णायक गोल गर्दै जनज्योतिलाई विजेता बनाउन सफल भईन् ।

त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा महादेव माविले ज्वालामुखी माविलाई १–० को झिनो अन्तरले हरायो । महादेवका लागि प्रतिक्षा चौधरीले ४८औं मिनटमा एक मात्र निर्णायक गोल गरिन् ।

प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने जनज्योतिले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता दुर्गा माविले एक लाख ५० हजार प्राप्त गर्यो । त्यसैगरी तेस्रो स्थान हासिल गरेको महादेव माविले ७५ हजार हात पार्यो भने चौथो स्थान हासिल गर्ने ज्वालामुखी माविले ५० हजार प्राप्त गर्यो ।

त्यस्तै व्यक्तिगत विधातर्फ जनज्योतिकी बिनिशा सुनार उत्कृष्ट गोलरक्षक चुनिईन् भने उत्कृष्ट डिफेन्डर महादेव माविकी प्रतिक्षा चौधरी घोषित भईन् । उत्कृष्ट मिडफिल्डर दुर्गा माविकी सुनिता सुनवार घोषित भईन् भने उत्कृष्ट फरवार्ड जनज्योतिकी दिक्षा खाँड घोषित भईन् ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक पनि विजेता जनज्योति कै अमृत केसी घोषित भए । व्यक्तिगत विधातर्फ उत्तकृष्ट हुने सबैले जनही ५–५ हजार प्राप्त गरे ।

Post Comments