News माडी कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु
गोलनेपाल

बसन्तपुर । पाँचौं माडी कप यु–१५ अन्तर विद्यालय फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाल राष्ट्रिय प्राविधिक स्कुल र दिवाकर स्मृति माविले विजयी शुरुवात गरेका छन् ।

बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा नेपाल राष्ट्रिय स्कुलले जगन्नाथपुरी माविलाई सडन डेथमा ७–६ ले हरायो । खेलमा नेपाल राष्ट्रिय स्कुलका सन्देश तिमल्सिना म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा दिवाकर स्मृतिले जनजिवन माविलाई ३–० ले हरायो । खेलमा दिवाकर स्मृतिका नयन गुरुङ म्यान अफ द म्याच घोषित भए । शनिबारको पहिलो दिनको नतिजापछि नेपाल राष्ट्रिय स्कुल र दिवाकर स्मृति मावि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तरगत जेठ ८ गते आइतबारको पहिलो खेल सपना स्कुल र विद्या ज्योति इङलिस बोर्डिङ स्कुलबीच हुनेछ भने दोस्रो खेल खैरहनी मावि र ब्लु बर्ड इङलिस बोर्डिङ स्कुलबीच हुने आयोजकले जनाएको छ ।

बसन्तपुर युनाइटेड क्लब, बसन्तपुरबजार, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा कुल १५ टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल यहि जेठ १५ गतेका दिन हुनेछ ।

 

Post Comments