News झापा च्याम्पियन, प्लानिङ ब्वाईज बी डिभिजनमा बढुवा
गोलनेपाल

काठमाडौं । झापा फुटबल क्लब शहिद स्मारक सी डिभिजन लिगको च्याम्पियन बनेको छ । शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न अन्तिम खेलमा झापाले स्वयम्भु क्लबलाई ४–२ ले हराउँदै लिग च्याम्पियन बनेको हो ।

झापाका लागि विशाल खवासले दुई गोल भने मनिष लिम्बु र पुजन राईले एक–एक गोल गरे । उता पराजित स्वयम्भुका लागि रोशन क्षेत्री र पल्साङ लामाले एक–एक गोल गरे । स्मरण रहोस, लिग च्याम्पियन हुनु अघि नै झापा बी डिभिजनमा समेत बढुवा भईसकेको थियो ।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा प्लानिङ ब्वाईज युनाइटेडले ओएसिस क्लबलाई ५–० ले हराउँदै दोस्रो स्थानमा रहेर बी डिभिजनमा बढुवा हुन सफल भयो । यद्यपि बी डिभिजनमा उक्लिनका लागि प्लानिङ ब्वाईजसँगै आरसी ३२ फुटबल एकेडेमीलाई पनि अवसर थियो । तर आरसी ३२ ले शुक्रबार नै भएको आफ्नो अन्तिम खेलमा स्पोर्टस् एकेडेमी सांघासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ ब्वाईजलाई बी डिभिजनमा बढुवा हुन थप सहज बनेको थियो ।

यो नतिजासँगै प्लानिङ ब्वाईज लिगतालिकाको दोस्रो स्थानमा रह्यो भने आरसी ३२ तेस्रो स्थानमा रह्यो । लिग च्याम्पियन झापाले उपाधिसहित १० लाख हात पार्दा प्लानिङ ब्वाईजले ७ लाख हात पार्यो । त्यस्तै तेस्रो स्थान हासिल गरेको आरसी ३२ फुटबल एकेडेमीले ४ लाखमा चित्त बुझायो ।

झापाका पारस कार्की लिग कै उत्कृष्ट खेलाडी चुनिए र ट्रफीसहित ५० हजार हात पारे । त्यस्तै महावीर क्लबले प्रतियोगिताको फेयर प्ले टिमको पुरस्कार प्राप्त गर्यो । त्यसवापत महावीरले पनि ५० हजार हात पार्यो ।

त्यस्तै लिग अवधिभर १४–१४ गोल गरेका प्लानिङ ब्वाईजका फागुराम थारु र सानेपा क्लबका खेमराज तामाङले संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । प्लानिङ ब्वाईज कै लोकेश चौधरी उत्कृष्ट गोलरक्षक चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका यी तीन खेलाडीहरुले ३५ हजार हात पारे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे ।

Post Comments