News मनाङलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । दावेदार मध्ये एक मानिएको मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पिप्ले रंगशालामा सम्पन्न दोस्रो क्वाटरफाइनलमा पुलिसले स्टार खेलाडीहरुले भरिएको मनाङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको ३५औं मिनटमा भरत शाहले गरेको एक मात्र गोल पुलिसको जितमा निर्णायक गोल बन्यो ।

गोल खाए लगतै मनाङले पेनाल्टीको अवसर पनि पाएको थियो । बिमल घर्ती मगरलाई पुलिसका खेलाडीले बक्स भित्र लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । तर अन्जन बिष्टको पेनाल्टी प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले विफल तुल्याईदिएका थिए ।

खेलमा मनाङले विपक्षी विरुद्ध निरन्तर दबाब कायम गरे पनि गोल गर्न नसक्दा निराश बन्न पुग्यो । त्यस्तै खेलकै क्रममा रेफ्रीसँग विवाद गरेपछि पुलिसका प्रशिक्षक अनन्त थापासहित हेम तामाङ र हेमन्त श्रेष्ठले रातो कार्डको सामना गरेका थिए ।

खेलमा पुलिसका गोलरक्षक शत्रुधन चौधरी म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । प्रतियोगिता अन्तरगत जेठ २५ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल घरेलु टोली विजय युथ क्लब र नव जनजागृति युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि जेठ ३० गतेका दिन हुनेछ ।

Post Comments