News नेपाल विरुद्ध जोर्डनः इतिहास कोर्ने अवसर
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आज मध्यरातमा आफ्नो पहिलो खेल बलियो जोर्डन विरुद्ध खेल्दैछ ।

फिफा वरियताको ९१औं स्थानमा रहेको जोर्डनसँग १६८ मा रहेको नेपाललाई तुलना गर्नु पक्कै पनि त्यति सहज तथ्यांक नहोला । नेपालले जोर्डनसँग खेलेको कुल चार मध्ये एउटै खेलमा जित निकाल्न सकेको छैन ।

यद्यपि सन् २०११ मा भएको फिफा विश्वकप छनौटतर्फ नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो । जुन नतिजा नै जोर्डन विरुद्ध नेपालको अहिलेसम्मको राम्रो नतिजाका रुपमा रहेको छ ।

अन्तिमपटक यी दुई टोली गत वर्ष जुनमा भिडेका थिए । विश्वकप छनौटतर्फ कै खेलमा आमने सामने भएका नेपाल र जोर्डनबीचको त्यो खेलमा नतिजा ३–० ले जोर्डनको पक्षमा गएको थियो । समग्रमा चार मध्ये नेपालले ३ मा हार र एकमा बराबरी नतिजा ल्याएको छ ।

कुवेत सिटी स्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा हुने आजको खेल नेपाललाई जोर्डन विरुद्धको इतिहास उल्टाउने अवसर पनि हुनेछ । तर त्योे त्यति सहज नहुने निश्चित छ । युवा खेलाडीहरुले भरिएको नेपाली टोलीमा अनुभव केही कम भए पनि जोश र खेल्न सक्ने क्षमता कायम छ ।

जसको उदाहरणका रुपमा हालै कतारमा भएको ओमान विरुद्धको मैत्रीपूर्ण खेललाई हेरे हुन्छ । तुलनात्मक रुपमा बलियो र सधै एकतर्फी नतिजा निकाल्ने ओमानले गत साता युवा खेलाडीहरुले भरिएको नेपाली टिमलाई २–० ले हराएको थियो । ओमान विरुद्धको पछिल्ला नतिजाहरुलाई हेर्दा त्यो खेल वास्तव मै नेपालका लागि सुधारात्मक खेलका रुपमा रहेको बुझ्न सकिन्छ ।

जे भए पनि जोर्डन विरुद्धको आजको खेल नेपालका लागि मैत्रीपूर्ण खेलभन्दा निकै फरक हुने निश्चित छ । स्थानीय समयअनुसार ९ः४५ बजे शुरु हुने त्यो खेल नेपाली समयअनुसार भने मध्यरातको १ बजेदेखि शुरु हुनेछ । आज राती हुने यो खेलको नतिजाले नै नेपालको आगामी खेलहरुको प्रदर्शनको आंकलन गर्न सकिने धेरैको बुझाई छ ।

नेपालले जोर्डनपछि आयोजक कुवेतसँग ११ जुनमा तथा इण्डोनेसियासँग १४ जुनमा खेल्ने कार्यक्रम छ । तुलनात्मक रुपमा यो समूहमा नेपाललाई नै कमजोर प्रतिद्वन्द्वीका रुपमा हेरिएको छ । तर पनि नेपालसँग यी तीनै देश विरुद्ध डटेर खेल्ने क्षमता छ । र धेरै नेपाली समर्थकहरुलाई नेपाली टिमप्रति यहि कुरामा भरोसा पनि छ । जय फुटबल ।

Post Comments