News युरो स्कुललाई फुटसल उपाधि
गोलनेपाल

काठमाडौं । युरो स्कुलले बृहस्पति एसइइ खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा भएको फाइनलमा काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै युरो उपाधि जित्न सफल भएको हो ।

युरोलाई उपाधि जिताउन कृष थापा मगरले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै युरोले १० हजार रुपैयाँ हात पारेको छ । यस्तै च्याम्पियन टोलीका खेलाडीले बृहस्पति विद्या सदनमा प्लस टु पढ्न चाहेमा शतप्रशित छात्रवृत्ति प्राप्त गर्नेछन् ।

टोलीमा रहेका ८ जनालाई १ लाख ८० हजार रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । दोस्रो भएको काष्ठमण्डपले ५ हजार रुपैयाँ हात पार्यो ।

दोस्रो भएको टोलीले ९० हजार अर्थात ६० प्रतिशत छात्रवृत्ति पाउने छन् । काष्ठमण्डपकी सराह बज्राचार्य प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५ हजार रुपैयासँगै ट्रफी हात पारिन् । उनी प्रतियोगिता खेल्ने एक्लो महिला खेलाडी थिइन् ।

विजयी टोली तथा खेलाडीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ, आयोजक बृहस्पतिको प्लस टु इनचार्ज सुरेश काफ्ले, स्टुडेन्ट डेभलपमेन्ट अफिसर मनीष केसी लगायतले पुरस्कृत गरे । नकआउटका आधारमा भएको एक दिने प्रतियोगितामा १६ टोली सहभागी थिए ।

 

Post Comments