News नेपाल विरुद्ध इण्डोनेसियाः सुखद समापन र चुनौति
गोलनेपाल

 काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह चरणको अन्तिम खेलमा आज नेपालको सामना इण्डोनेसियासँग हुँदैछ । छनौट प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको भिडन्त हुनेछ ।

शुरुवाती दुई खेलमा जोर्डन (२–०) र आयोजक कुवेत (४–१) सँग निराश बनेको नेपाललाई आज प्रतियोगिताको सुखद समापन गर्ने चुनौति पनि हुनेछ ।

फिफा वरियताको १६८औं स्थानमा रहेको नेपाल र १५९औं स्थानमा रहेको इण्डोनेसियाको खेलस्तरमा पनि निकै भिन्नता छ । जारी छनौट प्रतियोगितामा केही सुधारिएको प्रदर्शन गरे तापनि नेपालको संघर्ष जारी रहँदा इण्डोनेसियाले भने ठिक विपरित उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

आफ्नो पहिलो खेलमा आयोजक कुवेत विरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको इण्डोनेसियाले जोर्डनसँग पनि १–० को साँघुरो हार बेहोरेको थियो ।

दुई खेलको समाप्तीसम्म ६ अंक जोडेको जोर्डन समूह ए को शिर्ष स्थानमा छ । त्यस्तै कुवेत र इण्डोनेसियाको समान ३–३ अंक छ भने नेपाल अंकविहीन रुपमा पुछारमा छ ।

यो तथ्यांकलाई हेर्दा नेपाल बाहेक अन्य तीनै टोलीको एसियन कपमा छनौट हुने सम्भावना कायम छ । त्यसका लागि तीनै टोलीलाई निश्चित जितको खाँचो पनि छ । छनौट प्रतियोगिताबाट प्रत्येक ६ समूहको शिर्ष टिम र पाँच उत्कृष्ट दोस्रो टिमले एसियन कपको टिकट काट्ने छन् ।

यो अर्थमा समूह ए बाट शिर्ष स्थानको जोर्डनसँगै कुवेत र इण्डोनेसिया पनि एसियन कपको फाइनल चरणमा छनौट हुने हकदार टोली हुन् । यद्यपि यी टोलीहरुले आजको खेलमा आफु अनुकुल नतिजा पनि ल्याउनु पर्नेछ ।

कुवेत सिटी स्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा आज मध्यरातको १ बजेदेखि शुरु हुने नेपाल र इण्डोनेसियाबीचको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । जहाँ इण्डोनेसिया एसियन कपका लागि छनौट हुने महत्वकांक्षाका साथ उत्रिनेछ भने नेपाल आफ्नो प्रतिष्ठा र सुखद समापन गर्ने योजनालाई दाउमा राखेर चुनौतिका साथ भिड्नेछ ।

 

Post Comments