News सट्टेबाजी सम्झौताबारे एन्फाले दियो स्पष्टीकरण
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक अन्तर्राष्ट्रिय बेटिङ कम्पनीसँग सट्टेबाजी (फिक्सिङ) बारे सम्झौता गरेको कुरालाई लिएर अहिले चर्चा चुलिएको छ । एन्फाले आफू मातहत आयोजना गर्ने प्रतियोगिताहरुमा सट्टेबाजी गर्नेबारे एक कम्पनीसँग सम्झौता भएको कुरा बाहिरिएको थियो ।

नेपाली फुटबल गतिविधीहरुमा सट्टेबाजी गर्ने लगायतको सम्झौता भएको कुरा बाहिर आएसँगै एन्फाले त्यसबारे शुक्रबार स्पष्टीकरण दिएको छ । साथै त्यो आरोपलाई तथ्यहिन भन्दै खण्डन समेत गरेको छ । एन्फाका अनुसार त्यो सम्झौता सट्टेबाजीका बारेमा नभएर नेपालमा हुने फुटबल प्रतियोगिताहरुको प्रसारण अधिकारका बारेमा भएको समेत स्पष्ट पारेको छ ।

“हामीमाथि लगाइएको त्यो आरोपप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । त्यस्ता तथ्यहिन आरोपहरुको हामी खण्डन गर्दछौं । अवैध बेटिङ (सट्टेबाजी) बारे हाम्रो कुनै पनि किसिमको संघ संस्थासँग सम्झौता भएको छैन ।” एन्फाले स्पष्टीकरण दिंदै शुक्रबार आफ्नो आधिकारिक वेबसाईटमा लेखेको छ ।

एन्फाका अनुसार कथित सट्टेबाजीका लागि सम्झौता भएको कम्पनी भनिएको इम्पावर स्पोर्टस एजीसँग एएफसी लिग डेभलपमेण्ट प्रोग्राम अन्तरगत खेलको प्रत्यक्ष प्रसारण अधिकारबारे सम्झौता भएको समेत स्पष्ट पारेको छ । कम्पनीसँग भएको सम्झौता एन्फाले आयोजना गर्ने विभिन्न फुटबल प्रतियोगिताहरुको डिजिटल अधिकारबारे रहेको पनि बताएको छ ।

सोही सम्झौतावापत इम्पावर स्पोर्टस एजीले एन्फालाई निश्चित रकम बुझाउने सम्झौता भएको पनि उल्लेख छ । साथै त्यस किसिमको प्रसारण अधिकार सम्झौता एएफसी मातहतका अन्य सदस्य राष्ट्रहरुले पनि गरेको एन्फाले स्पष्टीकरण दिने क्रममा उल्लेख गरेको छ ।

एन्फाका अनुसार इम्पावर स्पोर्टस एजीले प्रसारण अधिकार सम्झौतापछि प्राविधिक सहयोग पनि गरेको बताएको छ । सम्झौतापश्चात् सोही कम्पनीको स्वामित्वमा रहेको इलेभनस्पोर्टसले नेपालमा भएका लिग म्याचहरुको प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

एन्फाले सट्टेबाजीबारे थप उल्लेख गरेअनुसार इम्पावर स्पोर्टसले म्याच सम्बन्धी डाटाहरु सट्टेबाजी कानुनी रुपमा मान्य भएका देशहरुमा प्रयोग गर्न मिल्ने गरि सम्झौता भएको पनि स्पष्ट पारेको छ । यद्यपि यसमा एन्फाको कुनै पनि किसिमको संलग्नता नरहेको पनि उल्लेख गरेको छ ।

त्यति मात्र नभएर एन्फाले इम्पावर स्पोर्टससँग सन् २०१८ मा सो सम्झौता भएको बताएको छ । साथै कम्पनीसँगको उक्त सम्झौता गत डिसेम्बरमा सकिएको पनि स्पष्ट पारेको छ ।

 

Post Comments