News हुम्ला एफएलाई गोलनेपालको साथ
सुरज राना मगर

काठमाडौं । पछिल्लो एक दशक बढी समयदेखि नेपाली फुटबलमा सक्रिय भएर लागिपरेको गोलनेपाल फाउण्डेशनले हुम्ला फुटबल एकेडेमीलाई आवश्यक खेल सामाग्री सहयोग गरेको छ ।

हाल वैदेशिक रोजगारीका लागि युएईमा रहेका नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी बादल घिसिङसँगको सहकार्यमा गोलनेपाल फाउण्डेशनले हुम्ला एफएलाई आवश्यक खेल सामाग्री सहयोग गरेको हो ।

हस्तान्तरण गरिएको खेल सामग्रीहरुमा फुटबल, शिन प्याड, ब्याग लगायतका फुटबल प्रशिक्षणका क्रममा आवश्यक पर्ने आधारभुत खेल सामग्रीहरु रहेका छन् । खेल सामग्री प्राप्त गरेपछि हुम्ला एफएका टिम अफिसियल ब्राभो रोमियोले खुशी व्यक्त गरे ।

रोमियोले गोलनेपाल फाउण्डेशन र पूर्व अन्तर्राष्ट्रिय खेलाडी घिसिङको यो सहयोगले हाल एकेडेमीमा प्रशिक्षणरत युवा खेलाडीहरुलाई फुटबलमा लाग्न थप उत्प्रेरणा मिल्ने बताए । साथै यो सहयोगका लागि उनले दुवै पक्षलाई क्लब र आफ्नो तर्फबाट हृदयदेखि नै धन्यवाद समेत प्रकट गरे ।

सहयोग हस्तान्तरणपछि गोलनेपाल फाउण्डेशनका सिइओ बिक्रम थापा पनि खुशी र उत्साहित देखिए । आफूहरुको यो सहयोग अभियानले फुटबलमा लाग्न चाहने युवा खेलाडीहरुलाई फुटबल मै रमाउन र थप धेरै कुराहरु सिक्न टेवा पुग्ने विश्वास लिएको उनले बताए ।

साथै यो अभियानका क्रममा फाउण्डेशन अहिलेसम्म देशका ४० जिल्लाहरुमा पुगिसकेको र आउने दिनहरुमा नेपालका सबै जिल्लामा पुग्ने लक्ष्य लिएको पनि सिइओ थापाले बताए । हुम्ला एफएलाई आवश्यक खेल सामग्री सहयोग गर्न अगाडी सरेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी घिसिङलाई पनि सिइओ थापाले धन्यवाद दिए ।

स्मरण रहोस, गोलनेपाल फाउण्डेशन हरेक महिना विभिन्न जिल्लाका दुर्गम र खेलकुदको आधारभुत आवश्यकताबाट समेत वञ्चित भएका स्थानहरुमा पुगेर त्यहाँका खेलाडी, महिला खेलाडी, अफिसियल, रेफ्री, क्लब र एकेडेमीहरुलाई निरन्तर सहयोग गर्दै आईरहेको छ । र यो अभियानलाई निरन्तर जारी पनि राख्ने फाउण्डेशनका सिइओ थापाले प्रतिवद्धता व्यक्त गरे ।

बिबा मिडिया ग्रुपको मातहतमा रहेको गोलनेपाल फाउण्डेशनसँगै चर्चित नेपाली फुटबल वेबसाईट गोलनेपाल डटकम र खेलदैनिक डटकम पनि रहेका छन् । यी दुवै वेबसाईटले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल र खेल क्षेत्रका गतिविधीहरुलाई महत्वका साथ समग्र खेलप्रेमीहरु माझ सम्प्रेसण गर्दै आइरहेको छ ।

 

Post Comments