News खुमलटार अन्तिम चारमा प्रवेश
उमेश पुन

पोखरा । खुमलटार युथ क्लब, काठमाडौं यहाँ जारी छैठौं नेपाल आइस हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा २५, हेमजा स्थित गौरीशंकर खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा खुमलटारले बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

खुमलटारले पहिलो हाफ मै गरेको दुई गोल टोलीलाई सेमिफाइनलमा पुग्न प्रर्याप्त बन्यो । खेल शुरु भएको दोस्रो मिनट मै आशिष श्रेष्ठले पहिलो गोलको खाता खोले । त्यस्तै २८औं मिनटमा आशिष सोनामले दोस्रो गोल गर्दै खेलको फाइनल स्कोर पहिलो हाफ मै तय गरेका थिए ।

विजयी टोली खुमलटारका लागि दोस्रो गोल गरेका आशिष सोनाम खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत असार ७ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र नेपाल एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

हेमजा युनाइटेड, पोखराको आयोजना तथा नेपाल आइसको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असार ११ गतेका दिन हुनेछ ।

Post Comments