News साउदीलाई यु–२३ एसियन कपको ऐतिहासिक उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साउदी अरबले एएफसी यु–२३ एसियन कपको उपाधि ऐतिहासिक रुपमा पहिलोपटक जित्न सफल भएको छ । पाँचौपटकको प्रयासमा साउदी च्याम्पियन बनेको हो ।

साउदी गत संस्करणको उपविजेता पनि र पहिलोपटक सन् २०१३ मा यु–२३ एसियन कपको फाइनलमा पुगेको थियो । प्रतियोगिताको तेस्रोपटकको फाइनल प्रयासमा साउदी ऐतिहासिक रुपमा सफल भएको हो ।

तश्केन्टको मिली स्टेडियममा सम्पन्न फाइनल खेलमा साउदीले आयोजक उज्वेकिस्तानलाई २–० ले हराउँदै ऐतिहासिक उपाधि जित्न सफल भएको हो । साउदीको जितमा खेलको ४८औं मिनटमा अहमद अल–घम्दीले पहिलो गोल गरे भने ७४औं मिनटमा फिरास अल–बुरैकनले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी साउदीका आइमन सलेम घोषित भए । उत्कृष्ट गोलरक्षक पनि साउदीका नवाफ अल–अकिदी चुनिए । सर्वाधिक गोलकर्ता भने दक्षिण कोरियाका चो योङ वुक घोषित भए । फेयर प्ले अवार्ड पनि च्याम्पियन साउदी कै पोल्टामा गयो ।

नेपालको छनौट यात्रा

एएफसी यु–२३ एसियन कपका लागि छनौट प्रतियउोगितामा नेपालले पनि सहभागिता जनाएको थियो । गत वर्षको अक्टुबरमा ताजिकिस्तानमा सम्पन्न छनौट प्रतियोगितामा नेपालले एउटै खेल नतिजी समूह चरणबाट बाहिरिएको थियो ।

छनौट प्रतियोगितातर्फ समूह बी मा परेको नेपालले पहिलो खेलमा इरानसँग ४–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो । त्यस्तै अन्तिम खेलमा लेबनानसँग् ४–० ले निराश बनेको थियो ।

 

Post Comments