News नेपाल आइस हेमजा गोल्डकप फाइनलः उपाधि जित्ने दुवै टोलीको योजना
उमेश पुन

पोखरा (खेलदैनिक) । पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण हेमजा गोल्डकपको फाइनलमा क्यामरुनी क्लब एभिनियर र हेम्जा युनाइटेड भिड्दैछन् । हेम्जा युनाइटेडको आयोजनामा पोखरा २५ हेम्जाको गौरीशंकर खेलमैदानमा शनिबार उपाधीका लागि आयोजक र एभिनियरबीच भिडन्त हुदैँछ ।

शुक्रबार फाइनल खेल अघि गरिएको पत्रकारसम्मेलनमा बोल्दै आयोजक हेम्जा युनाइटेडका प्रशिक्षक सुवर्ण जंग कार्कीले आफुहरुले एभिनियर क्लबसंग नै फाइनल खेल्न चाहेको प्रतिक्रिया दिए । उनले एभिनियर विदेशी टिम भएकाले आफुहरुलाई खेल जित्न भन्दापनि खेलमा अनुभव लिनु ठुलो कुरा रहेको बताए ।

‘खेलमा हार जित त हुन्छ नै । हामीपनि जितेरै यहाँसम्म आइपुगेका हौँ तर, एभिनियरसंग खेल्नु भनेको हाम्रो लागि नयाँ हो । हामीले विदेशी टिमसंग खेल्ने अनुभव घरमै लिने अवसर प्राप्त गरेका छौँ’ उनले भने । एभिनियर शारिरीक रुपमा बलियो रहेपनि आफुहरु त्यसका लागि तयार अवस्थामा रहेको सुनाए ।

हेम्जाका खेलाडी कमल थापा मगरले आफुहरु जित्नका लागि खेल्ने बताए । उनले टिम राम्रो रहेकाले सोहि अनुरुप खेल प्रदर्सन गर्ने बताए । एभिनियरका प्रशिक्षक आसिक थापा मगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिए । ‘फाइनल खेल हो सजिलो रुपमा हेर्न भएन । खेलमा हार जित त हुन्छ । हामीले पनि खेल्ने नै हो’ उनले भने,‘हेम्जा पनि राम्रो टिम छ । हामी पुरानै फर्मेसनमा खेल्छौँ । हाम्रा केहि खेलाडीले फाइनल गुमाउने हुदाँ हामीलाई अलिकति प्रभाव भने पर्नेनै छ ।’

एभिनियरका गोलरक्षक तथा कप्तान कोभास्सिले फाइनलका लागि योजना बनाएर खेल्ने बताए । उनले आफुहरु जित्नका लागि आएको र फाइनल खेल उचाल्न भरपुर मिहेनत गर्ने बताए । असार असार ४ गतेदेखी सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् ।

सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Post Comments