News एभनिर बन्यो नेपाल आइस हेम्जा गोल्डकप च्याम्पियन
उमेश पुन

पोखरा । नेपाल आइस छैठौं हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि अफ्रिकी टोली एभनिर फुटबल क्लब, क्यामरुनले जितेको छ । केही साता अघि मात्र सुनसरीमा सम्पन्न भलुवा गोल्डकप जितेको एभनिरको मोफसलमा यो लगातार दोस्रो उपाधि समेत हो ।

कारणवश शनिबार हुने भनिएको फाइनल खेल आइतबार सारिएको थियो । पोखरा–२५ हेमजा स्थित गौरीशंकर खेलमैदानमा भएको फाइनल भिडन्तमा एभनिरले आयोजक हेमजा युनाइटेडलाई ३–१ ले हराउँदै प्रतियोगिताको छैठौं संस्करण आफ्नो पोल्टामा पारेको हो ।

खेलमा अग्रता पनि एभनिरले लिएको थियो । छैठौं मिनट मै आनिसेको गोलबाट पाहुना टोलीले खेलमा शुरुवाती अग्रता बनायो । तर पहिलो हाफ कै ३५औं मिनटमा सुशिल राईले आयोजकका लागि बराबरी गोल फर्काउन सफल भए । तर आयोजकका लागि फाइनलमा त्यहि गोल सान्त्वना बन्यो ।

यद्यपि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । १५–१५ मिनटको अतिरिक्त समयतर्फ ९८औं मिनटमा एभनिरका लागि सांगले दोस्रो गोल गरे भने १०६औं मिनटमा बिल्लेले तेस्रो गोल थप्दै अफ्रिकी टोलीको जित सुनिश्चित गरे ।

फाइनल खेलको म्यान अफ द म्याच एभनिर कै नेल्सन चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । विजेता बनेको एभनिरले उपाधिसहित नगद ६ लाख हात पार्यो भने उपविजेता आयोजक हेमजाले ३ लाखमा चित्त बुझायो ।

दिप बने सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की चुनिए । त्यसवापत उनले नगद ५० हजार र ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक एभनिरका कोवासी बन्दा उत्कृष्ट डिफेन्डर हेमजाका आशिष गुरुङ घोषित भए ।

उत्कृष्ट मिडफिल्डर एभनिरका नेल्सन बन्दा उत्कृष्ट फरवार्ड भने हेमजाका सुशिल राई चुनिए । उत्कृष्ट प्रशिक्षक एभनिरका आशिक थापा मगर बने । उदीयमान खेलाडी हेमजाका मनिष थापा भन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार हेमजाका कमल थापा र एभनिरका बिल्लेले संयुक्त रुपमा हात पारे । प्रतियोगिताभर यी दुवै खेलाडीले समान ३–३ गोल गरेका थिए ।

फेयर प्ले टिम भने कालिका स्पोर्टस एकेडेमी, चितवन बन्यो । उत्कृष्ट बनेका सबैले जनही २०–२० हजार र ट्रफी हात पारे । फेयर प्ले टिम बनेको कालिका स्पोर्टसले भने २५ हजार प्राप्त गर्यो ।

विजयी खेलाडीहरुलाई फाइनल खेलको प्रमुख अतिथी गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले पुरस्कृत गरे । गत असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments